काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा सहभागी हुन नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल आज अमेरिका प्रस्थान गर्ने भएका छन् ।
इन्टरपोलको कार्यक्रममा भाग लिन दुई आईजीपी आज साँझ १८ः०० बजे कतार एयरवेज QR647 को फ्लाईटबाट दोहा प्रस्थान गर्ने भएका हुन् ।
स्रोतका अनुसार आईजीपीद्वय अमेरिका जाने भएपछि नेपाल प्रहरीमा एआईजी राजन अधिकारी र सशस्त्रमा एआईजी बंशीराज दाहाललाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
आईजीपीद्वय संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने ‘चिफ अफ पुलिस समिट’मा अमेरिका जान लागेका हुन् ।
यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट आईजीपीसँगै थप २/२ जना प्रहरी अधिकारी पनि अमेरिका जाने तयारी भएको थियो । तर, सरकारी खर्चको मितव्ययिता भन्दै चार प्रहरी अधिकृतको नाम काटिएको छ ।
नाम काटिनेमा दुबै आईजीपीका स्टाफ अफिसर र यूएन शाखाका प्रमुख रहेको स्रोतले बतायो । यसअघि युएनको यस्तो कार्यक्रममा जाँदा आईजीपीका स्टाफ अफिसर र युएन शाखाका प्रमुख जाने चलन थियो ।
भीआईपीस्तरको कार्यक्रम हुने र आईजीपी समेत त्यहाँ सहभागी हुने हुँदा स्टाफ अफिसर चाहिने जानकारहरु बताउँछन् । अन्य देशका प्रहरी प्रमुखहरु पनि आफ्ना स्टाफ अफिसर लिएरै आउने चलन रहेको पूर्वआईजीपीहरु नै बताउँछन् ।
संयुक्त राष्ट्र संघका सदस्यहरु भएका देशका प्रहरी प्रमुखहरु सहभागी हुने यो कार्यक्रममा पिस किपिङका बारेमा छलफल हुन्छ । त्यहाँ आफ्नो योजनाहरु प्रस्तुत गर्ने र त्यसलाई शान्ति स्थापनाका लागि लागु गरिन्छ । यो कार्यक्रम अमेरिकामा जुलाई ५ देखि ७ सम्म तीन दिन चल्ने बताइन्छ ।