काठमाडौं । नेपाल भ्रमणमा रहेका जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले आज नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।
जगद्गुरू शंकराचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले आईजीपी कार्कीको शब्द रचनामा निर्मित ‘शिव शम्भू’ (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गरेका थिए ।
सो अवसरमा जगद्गुरू शंकराचार्यले सत्य, सेवा, सुरक्षणम्को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउ धनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा आईजीपी कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा अनन्त कृतज्ञता व्यक्त गरेका थिए ।
आईजीपी कार्कीले जगद्गुरूबाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताउँदै उहाँको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताए ।
आईजीपी कार्कीले नेपाल प्रहरी कानूनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताए ।
उनले नेपाल प्रहरीको आदर्श वाक्य सत्य, सेवा, सुरक्षणम्को दिव्य एवम् मूल मार्गलाई आत्मसात् गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने पनि बताए ।
‘जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट विमोचित भजनले उहाँको आशीर्वादसँगै अझ दिव्यता र आध्यात्मिक गरिमा प्राप्त गरेको एवम् भजनले श्रद्धा, आत्मबोध र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास लिएको छु ।’ आईजीपी कार्कीले भने ।