काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको गीत ‘ताराबाजी लैलै’ तीव्र विवादपछि युट्युबबाट हटाइएको छ।
गीतमा प्रयोग गरिएका शब्द र दृश्यले शिक्षक समुदायको गरिमा र सम्मानमा आँच पुर्याएको भन्दै चौतर्फी विरोध भएपछि निर्माण पक्षले गीत हटाएको हो।
गीत सार्वजनिक भएलगत्तै शिक्षक, अभिभावक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसमा प्रयोग भएका अभिव्यक्ति र प्रस्तुति शिक्षक पेसाप्रति अमर्यादित रहेको भन्दै कडा आलोचना गरेका थिए।
विशेषगरी महिला शिक्षक तथा समग्र शिक्षण पेसालाई होच्याउने र सामाजिक संस्कृतिमा नकारात्मक प्रभाव पार्ने सामग्री समावेश गरिएको आरोप लागेको थियो।
यस विषयमा सम्बन्धित निकायमा परेको निवेदनमा पनि ‘ताराबाजी लैलै’मार्फत शिक्षक समुदायको सम्मानमा ठेस पुग्ने सामग्री समावेश गरिएको उल्लेख गरिएको छ।
विवाद चर्किएपछि अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
प्रियंका कार्कीले आफ्नो वक्तव्यमा गीतका केही शब्द र दृश्यले सम्मानित शिक्षक–शिक्षिका पेसा तथा त्यससँग सम्बन्धित व्यक्तिहरूको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई आफूले अत्यन्त गम्भीरतापूर्वक लिएको बताएकी छन्।
उनले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजका मार्गदर्शक तथा सम्मानित शिक्षक समुदायप्रति कुनै पनि प्रकारको नकारात्मक सन्देश दिने उद्देश्य आफू वा निर्माण टोलीको नरहेको स्पष्ट पारेकी छन्।
साथै, अन्जानमा प्रस्तुतिले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै व्यक्तिगत रूपमा तथा सम्पूर्ण निर्माण टोलीका तर्फबाट हृदयदेखि नै क्षमायाचना गरेकी छन्।
यसअघि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको भन्दै तत्काल हटाउन तथा सार्वजनिक रूपमा माफी माग्न माग गरेका थिए।