काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्यालय व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्म दलगत स्वार्थ हाबी हुँदा शिक्षाको गुणस्तर प्रभावित भएको धारणा व्यक्त गरेका हुन्।
उनले भने- 'शिक्षामा राजनीति भयो भन्छौँ। शिक्षामा दलीयकरण भयो । हामीले व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे, प्रधानाध्यापक पनि आफ्नै मान्छे, शिक्षक पनि आफ्नै मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनुपर्यो । त्यसबाट बाहिर निस्कनुपर्यो ।'
उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक र प्रधानाध्यापक आफ्नै दलका व्यक्ति हुनुपर्ने सोच त्याग्नुपर्नेमा जोड दिए। शिक्षा क्षेत्रमा भएको दलीयकरणले सबैभन्दा ठूलो क्षति पुगेको भन्दै यसबाट शिक्षा क्षेत्रलाई मुक्त गर्नुपर्ने आवश्यकता औँल्याए ।
साथै थापाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नुपर्ने भूमिका र योगदानबारे राजनीतिक तहमा गम्भीर बहस हुनुपर्ने पनि बताए ।