काठमाडौं । युएईमा कार्यरत पाँच नेपाली युवाले जितेको ३० मिलियन दिराम अर्थात् एक अर्ब २३ करोड नेपाली रुपैयाँ स्वदेश भित्र्याउन पहल सुरु गरिएको छ।
गोरखाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदिप न्यौपानेले उक्त विशाल चिट्ठा रकम जितेका थिए।
सोही रकमलाई सुरक्षित र वैधानिक रूपमा नेपाल भित्र्याउनका लािग छलफल गर्न बिहीबार उनीहरू अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका हुन्।
राजदूत तेजबहादुर क्षेत्रीसँग भएको भेटघाटमा विजेता युवाहरूले उक्त रकमलाई नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका थिए । राजदूतावासको माध्यमबाट उनीहरुले उक्त रकम सुरीक्षत र वैधानिक रुपमा नेपाल भित्र्याउन खोजेका हुन् ।
राजदूतावासका अनुसार उनीहरूले आफूले पाएको चिट्ठाको रकमलाई नेपाल सरकारको नीतिअनुसार वैधानिक बाटोबाट स्वदेश पठाउन र सो लगानीलाई फलदायी बनाउन आवश्यक सहजीकरण गरिदिन दूतावाससमक्ष आग्रह गरेका छन्।
सो अवसरमा खुसी व्यक्त गर्दै राजदूत क्षेत्रीले उक्त रकम वैधानिक तवरले नेपाल भित्र्याउने सम्पूर्ण प्रक्रियामा राजदूतावासले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए ।