जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवानले बोकेको एसएलआर राइफलबाट अचानक गोली चलेको छ ।
बुधबार राति करिब ११ः२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा भएको हो ।
जसमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआर राइफलबाट एक्कासि गोली चलेको थियो।
गोली यादवको कम्मरमाथिको ढाडमा लागेर उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
घटनालगत्तै उनलाई गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुर्याई प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्प रेफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी जवानले आफैंले बोकेको एसएलआरबाट अचानक गोली पड्किँदा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि गोली चलेको एसएलआर बोकेका प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ।
गोली कसरी चल्यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मेहराज घिमिरेले बताए ।