काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले शुक्रबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म विदेश यात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतको आदेशसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अध्यागमन विभागलाई पठाएको विदेश भ्रमण रोक्ने पत्र तत्कालका लागि निष्क्रिय भएको छ।
यसअघि राखेपको सिफारिसका आधारमा अध्यागमन विभागले एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, महासचिव किरण राईसहितका पदाधिकारीको विदेश यात्रा रोकेको थियो। फिफा विश्वकपसम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश जान लागेका नेम्बाङ र राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो।
उनीहरूविरुद्ध आर्थिक अनियमिततासम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान जारी रहेकाले विदेश यात्रा रोकिएको थियो । तर उच्च अदालतको अन्तरिम आदेशपछि रिटको अन्तिम फैसला नआएसम्म एन्फा पदाधिकारीहरूको विदेश यात्रामा अवरोध गर्न नपाइने भएको छ।