काठमाडौं । शक्तिको आडमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रजगज गर्दै आएका बिबादास्पद व्यापारी सुवास श्रेष्ठ नयाँ सरकार बनेलगत्तै फरार भएका छन् । सरकारले छानविन थालेपछि उनी बैंकक पुगेका थिए । तीन महिना हुँदा पनि उनी पक्राउ परेका छैनन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विस्तृत छानबिन गरिरहेको छ। उनले बर्षौदेखि विमानस्थलमा शक्तिको आडमा लुटधन्दा मच्चाउँदै आएका छन्। विमानस्थलमा अबैध रुपमा व्यापार गरेर उनले अर्बौको सम्पति जोडेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको स्टेरलाइज्ड जोनमा उनको मात्र पसल छ । जहाँ तीन गुणा बढी मुल्य असुलिन्छ। उनको असुलीका कारण सिंगो विमानस्थल नै बदनाम छ। त्यहाँको भाडा भने उनले न्युन तिर्दछन् । किनकी यसका लागि नागरिक उड्डयन कार्यालयले प्रतिस्पर्धा नै गरेको छैन ।
१५ वर्षअघिको भाडादर तिर्दे आएका छन् । अदालतको आडमा उनले त्यहाँ व्यापार गर्दै आएका छन्। अवधि सकिएपछि पनि अदालतबाट आदेश झिकाएर उनले व्यापार गर्दै आएका छन् ।
सोही पसलको आवरणमा डलरलगायत अवैध सामान तस्करी गर्दै आएको आरोप लाग्दै आएको छ। २०७५ सालमा त उनी अवैध डलरसहित पक्राउ नै परेका थिए।
जसमा राजश्व अनुसन्धान विभागले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसपछि पनि उनको सत्ताको आडमा अवैध धन्दा रोकिएको छैन ।
नयाँ सरकार बनेसँगै विमानस्थलस्थित कान्तिपुर क्याफे भने नागरिक उड्डयन कार्यालयले बन्द गरिसकेको छ। तर, स्टेरलाइन्ज्ड जोनमा रहेको उनको पसलबाट लुट रोकिएको छैन ।
उनको धन्दाबारे थाहा पाएपछि प्रधानमन्त्रीको सचिवालयले नै उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई निर्देशन दिएको थियो।
लगत्तै श्रेष्ठ विदेश भागे। जसकारण प्रधानमन्त्रीको सचिबालय महानिरीक्षक कार्कीसँग रुष्ट बनेको छ। यसमा प्रहरीबाटै सूचना चुहिएको समेत आशंका गरिएको छ।
किनकी श्रेष्ठले प्रहरीदेखि सबैतिर सेटिङ मिलाउँदै आएका थिए। एक पूर्वप्रधानन्यायाधीश लगायतसँग मिलेर उनले यस्तो लुट मच्चाएको चर्चा छ।
विदेश भएपनि उनलाई इन्टरपोलमार्फत पक्राउ गरी ल्याउन समेत भनिएको थियो। तर, अझै डिफ्युजन नोटिस समेत जारी भएको छैन । श्रेष्ट केही बिचौलिया प्रयोग गरी अझै अनुसन्धान प्रभावित पार्ने खेलमा छन्।