'हामी सबैले खबरदारी गर्न एकचोटी जुर्मुराउनुपर्ने अवस्था आयो'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र गणतन्त्रमाथि प्रहार गर्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार नेकपा उपत्यका प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सरकार सुशासन र विकासभन्दा संविधानले सुनिश्चित गरेका अधिकार कमजोर पार्ने काममा केन्द्रित भएको उनको दाबी छ।
उनले भने- 'वर्तमान सरकार सुशासन र विकासको निम्ति होइन, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । हामी सबैले खबरदारी गर्ने एकचोटी जुर्मुराउनुपर्ने अवस्था आयो ।'
वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने प्रयास भइरहेको संयोजक दाहालको भनाइ छ ।
उनले सरकारद्वारा सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन र ट्रेड युनियनका अधिकार कमजोर बनाउने तथा सीमासम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम भएको टिप्पणी गरे ।
यी विषयमा आफूले यसअघि संसद्मा आवाज उठाइसकेको उल्लेख गर्दै अब सरकारका गतिविधिबारे थप सशक्त रूपमा बोल्ने तयारी गरेको उनले बताए ।
साथै सरकार गलत बाटोमा अघि बढेकाले त्यसको विरोधमा आन्दोलनमा जुट्न पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन् ।