बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सय दिन पूर्णतः असफल भएको बताएका छन्।
शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो भनेका हुन् ।
'जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु,' प्रचण्डले भने।
जनतालाई आश्वासन र भ्रम दिएर बनाइएको सरकारका सय दिन उपलब्धिमूलक हुन नसकेको उनको भनाई छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो सय दिन पूरा भएको छ । यस अवधिमा सरकारको कार्यप्रगतिको खासै आलोचना नगर्ने अभ्यास रहेकोले यसलाई ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ । यो अवधिमा सरकारले आफ्नो कार्यदिशा र क्षमताको प्रारम्भिक सङ्केत दिने गर्छ ।
यसपटक सरकार गठन भएलगत्तै सय दिनभित्र सुरु वा सम्पन्न गर्नेगरी १०० बुँदे कार्यसूची ल्याइएको थियो । पूर्ववर्ती राजनीतिक सरकारहरूले ‘न्यूनतम साझा कार्यक्रम’ ल्याउने अभ्यास गर्दै आएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को एकल सरकारले भने आफ्नै सय बुँदे कार्यसूची प्रस्तुत गरेको छ ।
यद्यपी सय दिनपछि फर्केर हेर्दा सरकार आफ्नै कार्यसूचीमा उल्लिखित प्रगतिमा आंशिक रूपमा मात्रै सफल देखिएको छ ।
यसैलाई लिएर यसअघि नेकपा एमालेले बालेन नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल भएको दाबी गरेको थियो ।
एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बालेन र मन्त्रीका सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा जोडिएका प्रमाण सार्वजनिक भइरहेको भन्दै पनि प्रश्न उठाएका छन् ।