एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी व्यापक आक्रमण गरेको छ । शनिबार रातभर भएको हमलामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार किभसहित वरपरका विभिन्न क्षेत्रमा एकैसाथ मिसाइल र ड्रोन आक्रमण गरिएको थियो।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई रुसले पूर्णस्तरीय युद्ध सुरु गरेयता राजधानी किभमा भएको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक भएको बताएका छन्।
युक्रेनी सेनाका अनुसार रुसले प्रहार गरेका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको छ। त्यसैगरी आक्रमणमा प्रयोग गरिएका १२५ ड्रोनमध्ये १०८ वटा पनि खसालिएको दाबी गरिएको छ।
युक्रेनी वायुसेनाले रुसले इस्केन्डर ब्यालिस्टिक क्षेप्यास्त्र, हाइपरसोनिक जिरकोन मिसाइललगायत अत्याधुनिक हतियार प्रयोग गरेको जनाएको छ। तीव्र आक्रमणका कारण राजधानीका विभिन्न क्षेत्रमा विस्फोट, आगलागी र भौतिक क्षति भएको बताइएको छ।
यता, युक्रेनले पनि रुसविरुद्ध आफ्नो जवाफी कारबाहीलाई निरन्तरता दिएको छ। युक्रेनी सेनाका अनुसार ड्रोन आक्रमणमार्फत कालो सागरमा रहेका रुसका दुई तेल ट्यांकरलाई लक्षित गरिएको छ। उक्त आक्रमणबाट भएको क्षतिको विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममार्फत पछिल्लो एक सातामै रुसले युक्रेनमाथि आक्रमणको तीव्रता उल्लेखनीय रूपमा बढाएको दाबी गरेका छन्।
उनका अनुसार पछिल्लो सातामात्र रुसले युक्रेनमाथि करिब १,४५० ड्रोन, १,६४० भन्दा बढी गाइडेड बम र विभिन्न प्रकारका ९९ वटा मिसाइल प्रहार गरेको छ।