एजेन्सी । युक्रेन र रुसबीच फेरि कैदी आदानप्रदानमा सहमति भएको छ। बिहीबार अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा अबुधाबीमा भएको वार्तामा दुवै पक्षले दुवैतर्फका १५७–१५७ कैदी मुक्त गर्ने निर्णय गरेका हुन्।
चार वर्षदेखि जारी युक्रेन युद्धका क्रममा रुस र युक्रेनबीच पटक–पटक कैदी आदानप्रदान हुँदै आएको छ।
युद्धको भीषण अवस्थाबीच पनि कैदी आदानप्रदान नै यस्तो विषय बनेको छ, जहाँ दुवै पक्षले निरन्तर सहकार्य गर्दै आएका छन्। यद्यपि, जनवरी २०२६ मा युक्रेनले रुसले प्रक्रिया रोक्दै आएको आरोप लगाएको थियो।
अबुधाबीमा भएको पछिल्लो सहमतिपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयपछि भएको यो उपलब्धिलाई सकारात्मक भन्दै सबै मध्यस्थकर्तालाई धन्यवाद दिएका छन्। उनले मुक्त भएका कैदीहरूको तस्बिरसमेत सार्वजनिक गरेका छन्।
जेलेन्स्कीले भने, 'आजको आदानप्रदान लामो अन्तरालपछि आएको छ। हामी यसमा पुग्न सफल हुनु आवश्यक थियो। यसलाई सम्भव बनाउने सबैलाई म धन्यवाद दिन्छु।'