Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाढीपहिरो र सडक मर्मतले देशभर यातायात प्रभावित, प्रमुख राजमार्गहरू आंशिकदेखि पूर्ण बन्द

बाढीपहिरो र सडक मर्मतले देशभर यातायात प्रभावित, प्रमुख राजमार्गहरू आंशिकदेखि पूर्ण बन्द

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले मंगलबार बिहान ८:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका र बागमती प्रदेशका दुई महत्वपूर्ण सडक खण्ड मर्मत कार्यका लागि एक महिनासम्म पूर्ण रूपमा बन्द हुने भएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो गएपछि सतुंगल–चित्लाङ सडक खण्ड मर्मतका लागि बन्द गरिएको हो।

यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ हुँदै काठमाडौं जोडिने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक खण्ड पनि मर्मतका कारण एक महिनाका लागि पूर्ण रूपमा अवरुद्ध गरिएको छ।

काभ्रेपलाञ्चोकमा सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कुटुन्जेबेंसी खण्डमा सम्पूर्ण सवारी साधनको सञ्चालन रोकिएको छ।

कोशी प्रदेशमा बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग तथा कोशी राजमार्ग प्रभावित बनेका छन्। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

भोजपुर नगरपालिका–५ बोखिममा बाढीले क्षति पुर्‍याएको खण्डमा भने वैकल्पिक बाटो प्रयोग गर्दै एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरो खस्दा कोशी राजमार्गमा पनि एकतर्फी यातायात मात्र सञ्चालनमा छ।

गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। अन्नपूर्ण गाउँपालिका–३ जलथले, रघुगंगा गाउँपालिका–१ उपल्लो बैसरी र रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी क्षेत्रमा खसेका पहिरोका कारण उक्त सडकमा दुईतर्फी यातायात अवरुद्ध भएको छ।

नेपाल प्रहरीले लामो दूरीको यात्रा अघि सम्बन्धित निकायसँग सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, यात्रुहरूलाई मौसम र सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित यात्रा गर्न सुझाव दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077