काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक खण्डमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर र सङ्खुवासभामा सडक अवरुद्ध भएको छ। भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ भने वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा कोशी राजमार्ग पनि एकतर्फी सञ्चालनमा सीमित भएको छ।
बागमती प्रदेशमा काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी जिल्ला बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड एकतर्फी सञ्चालनमा रहेको छ।
कर्णाली प्रदेशमा हुम्लाको नाम्खा गाउँपालिका–२ क्षेत्रमा पहिरोको जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
प्रहरीले जोखिमयुक्त सडक प्रयोग नगर्न, वैकल्पिक मार्ग अपनाउन र आवश्यक सतर्कता अपनाउन यात्रुहरूलाई अनुरोध गरेको छ।