धनगढी । महेन्द्रनगरबाट बाजुराको मार्तडी जाँदै गरेको यात्रुवाहक बस सडकमै पल्टिँदा २३ जना यात्रु घाइते भएका छन् ।
आज बिहान ७ बजेर १० मिनेटमा साँफेबगर–मार्तडी सडक खण्डअन्तर्गत बुढीगंगा नगरपालिका–८ रिठाबजार क्षेत्रमा बस दुर्घटना भएको हो । अस्थायी प्रहरी पोष्ट रिठाबजारका अनुसार बस सडकको बायाँतर्फ नालीमा पल्टिएको थियो।
बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडीका ४३ वर्षीय खडक बुढा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली परिचालन गरी घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ भने गम्भीर अवस्थाका एकजनालाई थप उपचारका लागि अछामस्थित बयालपाटा अस्पताल रिफर गरिएको छ।
यस्तै, दुई जना घाइते भने आफैं मोटरसाइकलमा उपचारका लागि गएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।