मकवानपुर । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले आज र भोलि मकवानपुरको दुईदिने भ्रमण गर्ने भएका छन् ।
कृषि, प्रविधि तथा संस्थागत साझेदारीका सम्भावित क्षेत्र पहिचान गर्ने उद्देश्यले राजदूत बासले मकवानपुर भ्रमण गर्न लागेका हुन् ।
बागमती प्रदेशभित्र सञ्चालन भइरहेका प्राविधिक शिक्षाका कार्यक्रमको स्थलगत निरीक्षण, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको अवलोकन र क्षेत्रीय औद्योगिक सम्भावनाबारे अध्ययन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
भ्रमणको पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सचिवहरूसँग शिष्टाचार भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।