काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनमा सार्वजनिक गरिएको १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको तथ्यांकबारे स्पष्टीकरण दिएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा महाधिवेशनमा प्रस्तुत गरिएको विवरण अन्तिम नभई प्रारम्भिक आवेदनका आधारमा तयार गरिएको ‘कच्चा तथ्यांक’ रहेको उल्लेख गर्दै त्यसबाट भ्रम सिर्जना भएको स्वीकार गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “पर्याप्त परीक्षण तथा प्रमाणीकरण सम्पन्न नहुँदै प्रारम्भिक आवेदन विवरणमा आधारित कच्चा तथ्यांक महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुन पुगेकोमा र यसबाट आमनागरिक, सञ्चारमाध्यम तथा सम्बन्धित सरोकारवालामा भ्रम वा अन्योल उत्पन्न हुन गएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी दुःख व्यक्त गर्दछ। सम्पूर्ण विवरणको पुनः परीक्षण गरी आवश्यक संशोधन तथा अद्यावधिक तथ्यांक यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”
चितवनमा सम्पन्न पहिलो महाधिवेशनका क्रममा पार्टीका तत्कालीन महामन्त्री कबिन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका २३ हजार २७५ जना पार्टी सदस्य रहेको उल्लेख गरिएको थियो।
उक्त विवरण सार्वजनिक भएपछि संविधान र प्रचलित कानुनविपरीत नाबालकलाई राजनीतिक दलको सदस्य बनाइएको भन्दै व्यापक चर्चा र आलोचना भएको थियो ।

