काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
यसैगरी, सेवा आयोगको सदस्यमा प्रा.डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ। सचिवालयका अनुसार दुवै नियुक्ति त्रिवि सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्ति–मैत्री बनाउने उद्देश्यका साथ गरिएको हो ।
शिक्षामन्त्री पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा अन्तर्वार्ताका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।
सेवा आयोग अध्यक्ष पदका लागि गत जेठ महिनामा खुला आवेदन आह्वान गरिएको थियो। प्राप्त आवेदनहरूको विस्तृत मूल्यांकनपछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको सचिवालयले जनाएको छ।
आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न उच्च जिम्मेवारी सम्हालेका छन्।
उनले सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा कार्य गरेका थिए।