Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रास्वपाको बन्दसूचीप्रति तोसिमाको कडा आलोचना, भनिन् - समानुपातिकले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ

रास्वपाको बन्दसूचीप्रति तोसिमाको कडा आलोचना, भनिन् - समानुपातिकले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले समानुपातिक बन्द सूचीमा नाम समेटिएका नेताहरूलाई उक्त सूचीबाट नाम हटाएर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न खुला आव्हान गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले यस्तो आह्वान गरेकी हुन् । उनले समानुपातिक प्रणालीको मूल मर्ममाथि प्रश्न उठाउँदै यसलाई पहुँच, शक्ति र प्रभाव नभएका तर सक्षम व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताइन् ।

कार्कीले भनिन्, 'समानुपातिकको अवधारणा भौगोलिक विकटता, विपन्नता र आवाज नपुगेका क्षेत्रलाई संसदसम्म पुर्‍याउनका लागि हो। सूचीले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, गाउँ बोल्नुपर्छ।'

उनले पार्टी नेतृत्वका आफन्त, नातेदार र पार्टीका ‘भाइटल पोजिसन’मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा आकांक्षी बन्नु र त्यहीँ आफ्नो स्थान सुरक्षित गर्नुले समानुपातिक प्रणालीको औचित्यमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेकी छन्।

'समानुपातिक समावेशीकरणका लागि हो, निषेधका लागि होइन,' कार्कीले भनिन् । पार्टीको आन्तरिक संरचनातर्फ संकेत गर्दै उनले सचिवालय सदस्य र पदाधिकारीहरू सधैं ‘पोजिसन अफ बेनिफिट’मा रहने र प्राइमरी भोटिङ वा मूल्यांकन प्रक्रियामा पनि उनीहरूकै प्रभाव रहने टिप्पणी गरेकी छन्।

'महाधिवेशन नहुँदासम्म आजका पदाधिकारी र सचिवालय सदस्य निर्वाचनबाट बनेका होइनन्। पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा अग्रपंक्तिमा नाम सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन,' उनले लेखेकी छन्।

तोसिमा कार्कीले उदाहरणीय नेतृत्व चाहिने हो भने पार्टीका सबै पदाधिकारी र सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट नाम हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने बताएकी छन्।

'आज पार्टी यति ठूलो भइसकेको छ, साथीहरू किन डराउनुभएको ? सचिवालय सदस्य नै डराए भने अरूले के गर्ने ?' भन्ने उनको प्रश्न छ।

उनले अन्त्यमा समानुपातिक सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने माग गर्दै पार्टीभित्र गहिरो बहसको खाँचो औँल्याएकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077