काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीलाई ७ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन् ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार डिभिजन कार्यालयस्थित कार्यालय प्रमुखको क्वाटरबाट उनीहरूलाई शुक्रबार नगद रकमसहित नियन्त्रणमा लिइएको हो ।
अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग उनीहरूले ७ लाख ५० हजार रुपैयाँ घुस मागेको र लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको विशेष टोलीले सेवाग्राहीबाट लिएको रकमसहित दुवै कर्मचारीलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका कर्मचारीको साथबाट स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल फोन समेत बरामद गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।