हुम्ला । हुम्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा गए राति आएको पहिरोले एक घर पुरिँदा ३ वर्षीय बालक रमेश बडुवालको मृत्यु भएको छ।
स्थानीय पेमा लामाको घरमा भाडामा बसेर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका जगनाथ बडुवाल, उनकी श्रीमती सृजना बडुवाल र छोरा रमेश सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको थियो।
घटनामा बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। बालकका बुवा जगनाथ र आमा सृजना भने सामान्य घाइते भएका छन् र उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार करिब २०० मिटर माथिबाट ढुङ्गासहित खसेको पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। घटनापछि आसपासका थप आठ घर जोखिममा परेपछि त्यहाँ बस्दै आएका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
उद्धार तथा राहत कार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ। साथै छायल प्रहरी चौकीबाट थप छ जना प्रहरी घटनास्थलतर्फ पठाइएको छ।
प्रशासनले पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा नबस्न स्थानीयलाई आग्रह गरेको छ।
लगातारको वर्षाका कारण पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढेकाले सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेको जनाएको छ।