कालिकोट । कालिकोटमा वर्षासँगै आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
सोमबार सान्नीत्रिवेणी गाउँपालिका–६ स्थित भुवारिपाटामा रहेको स्थानीय पानी घट्टमा पिठो पिस्न गएका बेला माथिबाट एक्कासि खसेको पहिरोमा पुरिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर साउद रहेका छन्।
सान्नीत्रिवेणी गाउँपालिकाका अनुसार दुवै जना पानी घट्टमा पिठो पिसिरहेका बेला अचानक ठूलो पहिरो खसेर घट्टसहित पुरिएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा र मेहलमुडी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयको संयुक्त टोलीले आवश्यक प्रक्रिया तथा अन्य कार्य गरिरहेको जनाएको छ।
यसैगरी लगातारको वर्षासँगै आएको पहिरोका कारण दोलखा र जाजरकोटमा दुई जनाको मृत्यु भएको छ। घटनामा एक शिशुसहित दुई जनाले ज्यान गुमाएका छन् भने तीन जनाको सकुशल उद्धार गरिएको छ।
दोलखामा चार महिनाकी शिशुको मृत्यु
दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामीकी चार महिनाकी छोरी एलिना थामी को पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रहरीका अनुसार गएराति करिब ९ बजे भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट घर फर्किने क्रममा सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर हिँडिरहेका बेला आमाछोरीमाथि एक्कासि पहिरो खसेको थियो।
स्थानीयले दुवै जनाको उद्धार गरी धुलिखेल अस्पतालको दोलखा शाखामा पुर्याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए भने शर्मिला गम्भीर घाइते भएकी छन्।
जाजरकोटमा महिलाको मृत्यु
यस्तै, जाजरकोटको भेरी नगरपालिका–२ राङ्सी निवासी करिब ६० वर्षीया जयशीला शाह को पहिरोमा पुरिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अस्थायी टहरामाथिबाट खसेको पहिरोले टहरा पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा शाहकी ४० वर्षीया छोरी मेनुका थापा र ७ वर्षीया नातिनी टिका थापा को भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।