काठमाडौं । बुध्द एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान सुरु हुनेछ ।
बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् ।
बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागु भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुध्द एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुनेछ ।
कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्ने बुध्द एयरको विश्वास छ । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ ।