काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरेका छन् ।
नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले पछिल्लो परिस्थितिले देश र कम्युनिस्ट आन्दोलन दुवै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।
उनले अहिले कम्युनिस्ट आन्दोलनले धक्का खाएको उल्लेख गर्दै आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनु आवश्यक रहेको धारणा राखे। कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्दै फेरि देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने समय आएको उनको भनाइ थियो।
'देशको स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्न, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक छ,' दाहालले भने।
उनले देशमा निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाउँदै त्यसका विरुद्ध फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे।