काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूलाई साझा न्यूनतम कार्यक्रम बनाएर संगठित रूपमा आन्दोलनमा उत्रन आह्वान गरेका छन् ।
उनले आवश्यक परे एकै दिनमा सत्ता परिवर्तन सम्भव रहेको दाबी गर्दै त्यसका लागि वाम शक्तिहरूबीच तत्काल कार्यगत एकता आवश्यक रहेको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिको प्रक्रिया अझै समाप्त नभएको दाबी गरे। त्यसलाई रोक्न वाम शक्तिहरूले निर्णायक ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले अहिले सत्तामा रहेका दलहरूले नै एकै दिनमा सत्ता परिवर्तन सम्भव हुने उदाहरण प्रस्तुत गरिसकेको टिप्पणी गर्दै संसद्, निर्वाचन र जनआन्दोलन सबै माध्यमबाट समानान्तर रूपमा संघर्ष अघि बढाउनुपर्ने बताए।
'सदनमा पनि लड्ने, निर्वाचनमा पनि प्रतिस्पर्धा गर्ने र जनतालाई सडकमा उतार्ने। एकै दिनमा सत्ता उल्ट्याउन सकिँदो रहेछ भन्ने कुरा त अहिलेका सत्ताधारीहरूले नै सिकाइसकेका छन्,' प्रचण्डले भने ।
उनले सबै वामपन्थी दलले साझा न्यूनतम कार्यक्रम तयार गरी आफ्नो क्षमताअनुसार काठमाडौं तथा देशभरका जिल्ला सदरमुकाममा ठूलो संख्यामा कार्यकर्ता परिचालन गर्नुपर्ने प्रस्ताव राखे।
प्रचण्डका अनुसार प्रत्येक दलले आफ्नो क्षमताअनुसार लाखौँ कार्यकर्ता राजधानी र जिल्लाहरूमा परिचालन गर्न सके राजनीतिक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।