काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर किरण राउत उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
ट्राफिक व्यवस्थापन, प्रविधिमैत्री सेवा प्रवाह र जनमैत्री कार्यसम्पादनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै इन्स्पेक्टर किरण राउतलाई असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सम्मानस्वरूप प्रशंसापत्र प्रदान गरे । राउतको व्यावसायिक दक्षता, नेतृत्व क्षमता र सेवाप्रतिको समर्पणको उच्च मूल्यांकन गरिएको बताइएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार इन्स्पेक्टर राउतले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । उनी कन्टेन्ट क्रिएसन, सामाजिक सञ्जाल व्यवस्थापन (सोसल मिडिया ह्यान्डलिङ) तथा अपरेशनल व्यवस्थापनमा दक्ष अधिकृतका रूपमा परिचित छन्।
त्यसैगरी, कार्ययोजना निर्माण तथा प्रभावकारी कार्यान्वयन, नागरिकका गुनासोको शीघ्र सम्बोधन, ट्राफिक सचेतना अभिवृद्धि तथा सेवाग्राहीप्रति सरल, सभ्य, शिष्ट र उत्तरदायी व्यवहार प्रदर्शनमा उनको कार्यसम्पादन प्रशंसनीय रहेको कार्यालयले जनाएको छ।