काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ४० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बुधबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँबसपार्क, जम्बुडाँडा, सातदोबाटो, काडाँघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, किर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध, र जयबागेश्वरी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो।
आज बुझाइएका ४० ओटा सहित ५०२ ओटा सवारी साधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ।
चोरीका ३० ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।
सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए।