काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ।
आयोगका अनुसार प्राधिकरणअन्तर्गत सञ्चालन भएका विभिन्न ठेक्कामा स्वीकृति, अनुगमन, भुक्तानी तथा सहजीकरण गर्ने क्रममा अधिकारीले पदको दुरुपयोग गर्दै १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।
उक्त रकम ठेक्कामा संलग्न गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेमप्रकाश ढकालबाट लिएको आरोप अख्तियारले लगाएको छ।
अनुसन्धानका क्रममा घुसबाट प्राप्त रकम लुकाउन अधिकारीले ललितपुरमा श्रीमतीको नाममा १३ आना जग्गा खरिद गरेको तथा सम्पत्तिको वास्तविक स्रोत लुकाउने प्रयास गरेको आयोगको दाबी छ। जग्गाको लिखतमा ९१ लाख रुपैयाँ मात्रै देखाइए पनि बाँकी रकम बैंकिङ माध्यमबाट व्यवस्थापन गरी गैरकानुनी स्रोतलाई वैधानिक देखाउन खोजिएको अख्तियारले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो, कैद, बिगो बराबरको जरिवाना तथा भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफतको माग गरेको छ। राष्ट्रसेवक कर्मचारी भएकाले थप सजायको मागसमेत गरिएको छ।
त्यस्तै, घुस उपलब्ध गराएको आरोपमा गायत्री निर्माण सेवा र कम्पनीका प्रमुख प्रेमप्रकाश ढकालविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दर्ता गरिएको छ। आयोगका अनुसार अब उक्त मुद्दाको अन्तिम निरूपण विशेष अदालतबाट हुनेछ।