काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको गम्भीर आरोपमा तीन जनाविरुद्ध संगठित अपराधसहित पाँचवटा कसुरमा मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विस्तृत अनुसन्धानपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, फिलिपिन्समा लुकीछिपी बस्दै आएका ३४ वर्षीय प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ५६ वर्षीय ताराप्रसाद खरेलविरुद्ध मुद्दा दायर गरिएको हो ।
अधिकारीले भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउन अन्डरवर्ल्ड खडा गरी अख्तियार प्रमुखलगायतलाई धम्क्याएका थिए ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध ज्यान मार्ने आपराधिक षड्यन्त्र गर्न नहुने, आपराधिक लाभ लिन नहुने, संगठित अपराध, बिद्युतीय कारोबार ऐन र सम्पत्ति शुद्धीकरणको कसुमा मुद्दा दायर भएको हो।
अनुसन्धानमा देखिएअनुसार, अख्तियारले प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान अघि बढाएपछि उनीनिकट समूहले योजना बनाएर धम्कीपूर्ण गतिविधि गरेको खुलेको छ।
अभियोगपत्रअनुसार, प्रकाश पाठक र ताराप्रसाद खरेलले ‘ईजीएन’ नामक कथित आतङ्कवादी संगठनको नाम प्रयोग गर्दै प्रमुख आयुक्त राईलाई लक्षित गरी पत्र तथा वाट्सएपमार्फत भिडियो सन्देश पठाएका थिए।
ती सामग्रीमा राजीनामा दिन दबाब दिँदै, माग पूरा नभए ज्यानै लिने चेतावनीसमेत दिइएको उल्लेख छ । प्रहरीले यसलाई संगठित रूपमा गरिएको धम्की र दबाबको प्रयासका रूपमा व्याख्या गरेको छ।
डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार, अनुसन्धानमा संलग्न सबै डिजिटल प्रमाण, सन्देश र समन्वयका आधारमा अभियोग दायर गरिएको हो।