काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डग च्यु उत्पादक संघका प्रतिनिधिहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफलका लागि बोलाएका थिए । सोही क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपाली उत्पादन निर्यातमा देखिएका कानूनी र प्राविधिक अड्चन हटाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिए ।
बिदेशी बजारमा नेपाली गलैंचा निर्यात सहज बनाउन कूटनीतिक पहल गर्ने, प्लाइउडको कच्चा पदार्थ निर्यातमा निरुत्साहन गर्नका लागि भन्सार बढाउने र हिमाली भेगमा भेडापालनका लागि वन ऐन परिमार्जन गर्ने उनको भनाइ छ । स्वदेशी उद्योगहरूको संरक्षण र निर्यात वृद्धि नै सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री बालेनले स्पष्ट पारे ।
यस्तै छलफलमा सहभागी व्यवसायीहरूले आफ्ना मागहरू सम्बोधन गर्न प्रधानमन्त्रीले सरोकारवाला निकायलाई तत्कालै निर्देशन दिँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।