काठमाडौं । हतपत्त कसैसँग पनि भेट गर्न नरुचाउने प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पछिल्लो समय निजी क्षेत्रका प्रतिनिधिहरु निरन्तर छलफल गरिरहेका छन् ।
निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग कुराकानी गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको खोजी गर्छन् । तर, कुनै पनि बैठकमा अर्थमन्त्री डा. वाग्ले उपस्थित छैनन् ।
सोमबार पुँजीबजारमा सरोकारवाला पक्षहरूसँग छलफल गरेका बालेनले उक्त बैठकमा पनि अर्थमन्त्रीलाई राख्न चाहेनन् । छलफलका क्रममा लगानीकर्ताको मनोबल कमजोर हुनुको कारण खोजेका प्रधानमन्त्रीले करिब एक घण्टा सुनेर बाहिरको हल्लामा विश्वास गरेर लगानीको निर्णय नगर्न सुझाएको बताइएको छ ।
प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बोलाएर धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर, संस्थागत लगानी तथा व्यक्तिगत लगानीकर्तासँग छलफल गरेका हुन् ।
शाह प्रधानमन्त्री बनेदेखि धितोपत्र बजार निरन्तर घट्दो गति देखिएको थियो । पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्ज परिसूचक घटेर २५०० को हाराहारीमा झरेको थियो ।
प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि बजारले सकारात्मक गति लिएको छ । सोमबार पनि नेप्से सूचक ४१ अंकले बढेको छ ।
सरोकारवालासँग प्रधानमन्त्रीले सरकार निजी क्षेत्रप्रति नकारात्मक नरहेको बताएको सहभागीको भनाइ छ । सेयर बजारको विकास तथा विस्तारका लागि सरकारले निरन्तर छलफल गरेको हुनाले लगानीकर्ताले मनोबल कमजोर बनाउनुपर्ने अवस्था नरहेको प्रधानमन्त्रीले आश्वासन दिएको उनीहरूले बताए ।
त्यसैगरी सेयर बजारप्रति सरकार सचेत रहेको समेत प्रधानमन्त्रीले बताएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार प्रधानमन्त्रीले पुँजीबजारले पनि रोजगारी सृजना गर्ने र राजश्वमा योगदान दिनेगरी काम गर्नुपर्ने बताएका थिए ।
छलफलमा लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेको हुँदा माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्टता हटाई, घाटा समायोजन गरेर मात्र कर लिने व्यवस्था मिलाउने, राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिने लगायतका सुझाव दिएका छन् ।
सबैभन्दा अचम्मको कुरो त के छ भने प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षदेखि बैंकका सीईओसम्मलाई छुट्टाछुट्टै भेट्दा कुनै पनि बैठकमा अर्थमन्त्रीलाई राखेका छैनन् । तर, यसलाई निजी क्षेत्रका प्रतिनिधिहरुले भने अर्थपूर्ण रुपमा लिएको जनाएका छन् ।
सोमबारको धितोपत्र क्षेत्रका सरोकारवालाहरुसँग भेटमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट र नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई बोलाएका प्रधानमन्त्री शाहले अर्थमन्त्रीलाई भने किन बोलाएनन् ? प्रश्न गम्भिर र सोचनिय छ ।
प्रधानमन्त्री शाहले सरकारका दोस्रो वरीयताका मन्त्री तथा रास्वपा पार्टीभित्र पनि सभापति र आफूपछिको वरीयताका उपसभापति डा. वाग्लेलाई किन ‘इग्नोर’ गर्दै आफैँ अर्थतन्त्रसँग डिल गरिरहेका छन् त ? भन्ने अर्को प्रश्न पनि उब्जिएको छ ।
यसले आफ्नै अर्थमन्त्रीसँग प्रधानमन्त्रीको अविश्वास मात्रै होइन, रास्वपा पार्टीभित्रको शक्तिसंघर्षको प्रभावका रुपमा पनि लिइएको छ ।
रास्वपा विधानमा सभापतिले संसदीय दलको नेतालाई फिर्ता बोलाउनसक्ने प्रावधान समेटिएपछि त्यसलाई बालेन पक्षधरले ठूलो शंकाको दृष्टिले हेरेका छन् ।
अर्कातिर, डा. वाग्लेले ल्याएको बजेटप्रति पनि प्रधानमन्त्रीले चित्त बुझाएका छैनन् । बन्द रहेका सरकारी उद्योग चलाउने घोषणा बजेटमै होस् भन्ने प्रधानमन्त्रीको चाहना हुँदाहुँदै वाग्लेले त्यसो नगरकाले बालेन असन्तुष्ट रहेको स्रोत बताउँछ ।
त्यस्तै, बिजुली र राइड सेयरिङमा लगाइएको भ्याट एवम् शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत शुल्कका कारण सरकारकै लोकप्रियतामा ह्रास आएको बालेन टिमको बुझाइ छ ।
प्रधानमन्त्रीको व्यवहारले आफू अपमानित भएको महसुस गरेका अर्थमन्त्री डा. वाग्लेले सिधै प्रधानमन्त्रीको विरोध त गरेका छैनन् तर, सभापति रवि लामिछानेसँग भने आफ्ना असन्तुष्टिहरु राखिरहेको स्रोत बताउँछ ।
शनिबार र आइतबार डा. वाग्ले र सभापति लामिछाने काभ्रेको नमोबुद्धमा रहेको दूषित थानी रिजोर्टमा दुई दिनसम्म परिवारसँग सँगै बसेका थिए । यसलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।