काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हाल्न आह्वान गरेका छन् ।
शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो आह्वान गरेका हुन्।
'नेपालका गरिब, मजदुर, किसान, उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ, त्यसविरुद्ध जनतालाई सङ्गठित र आन्दोलित गर्ने । सदनमा लड्ने, सडकमा लड्ने, आगामी निर्वाचनमा लड्ने, चारैतिरबाट घेरा हाल्ने,' प्रचण्डले भने ।
राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने प्रचण्डको भनाई थियो। त्यसका लागि साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।
साथै जेनजी आन्दोलनको घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले संविधान निर्माणपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा कमजोर बनेको टिप्पणी गरे।
'संविधान बनेपछि हामी दिनदिनै सरकार बनाउने, प्रदेश र स्थानीय तह चलाउने, मन्त्री–प्रधानमन्त्री फेर्नेतिर लाग्यौँ। तर हाम्रा वैरीहरूले ठूला रणनीतिक योजना बनाएछन्। त्यहीँ हामी चुक्यौँ,' प्रचण्डले थप भने ।