काठमाडौं । सरकारले आइतबारको सार्वजनिक बिदा दीर्घकालसम्म कायम रहने स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तत्काल आइतबारको बिदा हटाउने कुनै योजना नरहेको बताएका हुन्।
शिक्षा पत्रकारहरूसँगको छलफलमा मन्त्री पोखरेलले दुईदिने सार्वजनिक बिदाको व्यवस्था यथावत् रहने उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यास पनि अधिकांश मुलुकमा दुईदिने बिदाको रहेको बताए।
'दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ,' मन्त्री पोखरेलले भनेका छन् ।
पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत २२ चैतको मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिएर कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।
जुन बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।
यद्यपि, आइतबारको बिदाले शैक्षिक गतिविधि प्रभावित हुनुका साथै सरकारी अस्पतालको सेवा प्रवाहमा पनि असर परेको भन्दै आलोचना हुँदै आएको छ।
यसअघि पनि केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको थियो ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताएकी थिइन् ।