धनगढी । अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धनगढीस्थित कृष्ण मन्दिर परिसरको धर्मशाला खाली गर्न धर्मशाला व्यवस्थापन समितिले आग्रह गरेको छ।
समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई लिखित पत्र हस्तान्तरण गर्दै खाली गर्न आग्रह गरेका हुन् ।
पन्तका अनुसार डा. केसी बसोबासका लागि भन्दै धर्मशालामा आएका भए पनि पूर्व जानकारीबिनै त्यहीँ सत्याग्रह सुरु गरिएको थियो।
धार्मिक स्थलमा अनसन सञ्चालन गरिएकाले विभिन्न पक्षबाट प्रश्न र दबाब आएको उनले बताएका छन्।
यसअघि बिहीबार अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पनि धर्मशालामा अनसन गर्न नदिन व्यवस्थापन समितिसँग आग्रह गरेका थिए।
व्यवस्थापन समितिले औपचारिक रूपमा स्थान खाली गर्न पत्र दिएपछि उनले आगामी कदम र वैकल्पिक व्यवस्थाबारे छलफल गरिरहेको जनाइएको छ।
डा. केसीका सहयोगी डा. अमृत जैशीले धर्मशालामा बस्ने विषयमा व्यवस्थापन पक्षलाई पूर्व जानकारी गराइएको दाबी गर्दै अहिले कुन आधारमा स्थान छाड्न भनिएको हो भन्ने स्पष्ट नभएको बताए।
डा. केसी पाँच बुँदे माग अघि सार्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा बसेका छन्।