काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अनुगमनका लागि गृहमन्त्री स्वयं जाने परम्परा अन्त्य गर्दै सादा पोशाकमा विशेष टास्क फोर्स खटाइने बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सीमा नाकाको प्रभावकारी अनुगमनका लागि ‘मिनिस्ट्रियल टास्क फोर्स’ गठन गर्ने बताएका हुन् ।
'सीमा नाकामा अब गृहमन्त्री जानेभन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं। गृहमन्त्री जाँदा धेरैले घेर्ने हुँदा काम गर्नै गाह्रो हुने रहेछ, कतिपयले स्टन्ट पनि भनिदिनुहुन्छ अब सादा पोशाकको टोलीले सीमा क्षेत्रमा पुगेर जनताको दुःख–सुख बुझ्दै नियमित अनुगमन गर्नेछ,' उनले भने।
गृहमन्त्री गुरुङले विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिमका नागरिकका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए।