धनगढी । पाँच बुँदे मागसहित आमरण अनशनमा बसेका डा. गोविन्द केसीविरुद्ध धनगढीमा प्रदर्शन भएको छ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि दबाब दिँदै आएको संघर्ष समितिको अगुवाइमा उनी अनशनरत रहेको कृष्ण मन्दिर धर्मशालाबाहिर प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीले ‘गोविन्द केसी गो ब्याक’ भन्दै नाराबाजी गर्दै अनशन फिर्ता लिन माग गरेका छन्।
डा। केसी तीन दिनदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रहमा छन्। प्रदर्शनपछि सम्भावित अप्रिय अवस्था हुन नदिन धर्मशालाबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यसका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
डा। केसीले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्वार्थको द्वन्द्व हुने गरी पदाधिकारी नियुक्त गरिएको आरोप लगाउँदै उक्त नियुक्ति बदर गर्नुपर्ने माग गरेका छन्। तर संघर्ष समितिले भने लामो प्रतीक्षापछि सञ्चालनको तयारीमा रहेको विश्वविद्यालय डा. केसीका मागका कारण पुनः अन्योलमा पर्न सक्ने भन्दै उनको सत्याग्रहको विरोध गर्दै आएको छ।
विश्वविद्यालय सञ्चालनमा ढिलाइ हुन सक्ने भन्दै स्थानीय तहमा पनि उनको अनशनप्रति असन्तुष्टि देखिएको छ।
यही विवादका बीच धर्मशाला व्यवस्थापन समितिले शुक्रबार डा. केसीलाई धर्मशालाभित्र अनशन नबस्न आग्रह गरेको थियो। व्यवस्थापन समितिले धर्मशालालाई विवादमुक्त राख्न यस्तो आग्रह गरिएको जनाएको छ।
यसैबीच केसीको स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गर्ने तयारी गरिएको छ।
कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप ११०र९० र रगतमा सुगरको मात्रा ५० पुगेको पाइएको छ, जुन निकै न्यून भएकाले तत्काल उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।