Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अनशनरत डा. गोविन्द केसी सेती अस्पताल भर्ना, स्वास्थ्य अवस्था कमजोर

अनशनरत डा. गोविन्द केसी सेती अस्पताल भर्ना, स्वास्थ्य अवस्था कमजोर

शनिवार , श्रावण ९, २०८३

धनगढी । धनगढीमा २४औँ सत्याग्रहका क्रममा आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

डा. केसी धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत थिए। शनिबार बिहान अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले स्वास्थ्य परीक्षण गर्दा उनको रक्तचाप ११०/९० र रगतमा चिनीको मात्रा ५० मापन भएको थियो।

चिकित्सकका अनुसार रगतमा सुगरको मात्रा अत्यन्त न्यून भएपछि स्वास्थ्यमा थप जटिलता देखिन सक्ने जोखिम बढेकाले तत्काल आईसीयूमा राखेर उपचार गर्न सिफारिस गरिएको थियो। त्यसपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको हो।

डा. केसीले बिहीबारदेखि पाँचबुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन्। उनका सहयोगी डा. अमृत जैसीका अनुसार स्वास्थ्य अवस्था कमजोर हुँदै जाँदा मांसपेशी बाउडिने, स्पष्ट रूपमा बोल्न कठिन हुने तथा पहिले गरिएको खुट्टाको शल्यक्रियाका कारण हिँडडुल गर्नसमेत समस्या भएको छ। दैनिक आवश्यक कामका लागि बाथरुमसम्म जान पनि उनलाई सहयोग आवश्यक पर्न थालेको उनले बताए।

यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार डा. केसीका मागबारे सकारात्मक रूपमा छलफल गर्न तयार रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीका सहयोगी डा. अमृत जैसीसँग कुराकानी गरेका थिए भने राति डा. केसीसँग पनि टेलिफोन संवाद भएको थियो।

संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि वार्ता प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। डा. केसीले भने आफ्ना मूल मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने तथा स्वार्थ प्रेरित ढंगले गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति रद्द गर्नुपर्ने मागलाई पनि वार्ताको अनिवार्य एजेन्डा बनाएका छन्।

डा. जैसीका अनुसार मन्त्री पोखरेलले यी विषयमा छलफल गर्न वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढीमै पुगेर प्रत्यक्ष संवाद गर्ने प्रतिबद्धता जनाएका छन्।

यता, डा. केसी अनशनरत रहेको कृष्ण मन्दिर धर्मशालाबाहिर भने विरोध प्रदर्शनसमेत भएको छ। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गर्दै सहभागीहरूले ‘गोविन्द केसी गो ब्याक’ भन्दै नाराबाजी गरेका छन्। उनीहरूले डा. केसीलाई सत्याग्रह फिर्ता लिन आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077