सिरहा । सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिकामा तनाव सिर्जना भएको छ ।
उपचारमा ढिलाइ भएको र समयमै एम्बुलेन्स उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले भगवानपुर गाउँपालिका–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्।
सर्पले टोकेपछि उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई थप उपचारका लागि लैजान समयमै एम्बुलेन्स नपाउँदा बालकको बाटोमै मृत्यु भएको स्थानीयहरुको आरोप छ।
स्थानीयले एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको दाबी गरेका छन्। यद्यपि, यस विषयमा गाउँपालिका अध्यक्ष वा स्वास्थ्य केन्द्रले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
बालकको मृत्युको खबर फैलिएपछि आक्रोशित स्थानीय स्वास्थ्य केन्द्र पुगेका थिए। उनीहरूले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडकमा टायर र दाउरा बालेर प्रदर्शन गरेका छन्। सडक अवरुद्ध भएपछि त्यस क्षेत्रको यातायात सेवा प्रभावित भएको छ।
स्थानीयका अनुसार बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भएको थियो। तर अध्यक्ष वार्तास्थलमा उपस्थित नभएपछि आन्दोलन थप उग्र बनेको आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र स्वास्थ्य सेवामा देखिएको लापरबाही अन्त्य गर्न माग गरेका छन्।
स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र अवस्था सामान्य बनाउन स्थानीयसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।