सिरहा। आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालयमै घुस बुझ्दै गरेको अवस्थामा बेला रंगेहात पक्राउ गरेको हो।
स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले आफूभन्दा माथिका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमै ५ लाख रुपैयाँ घुस मागेका थिए।
अडिटका क्रममा कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व पर्ने बताइएको थियो।
थप कागजात पेस गरेपछि दायित्व अझ बढ्न सक्ने जानकारी दिँदै कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या मिलाइदिने प्रस्ताव राखेको आरोप छ। कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको बताइएको छ।
घुस बुझाउने योजना अनुसार कम्पनीका प्रतिनिधिलाई विभिन्न समय कुराइएपछि अन्ततः रकम कार्यालयमै ल्याउन भनिएको थियो।
सोही क्रममा कार्यालयभित्रै ५ लाख रुपैयाँ बुझ्ने क्रममा अख्तियारको टोलीले पाललाई रंगेहात पक्राउ गरेको हो ।
घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ।