काठमाडौं । बैंकिङ कसुरसम्बन्धी ४२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको मुद्दामा व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवालसहितका प्रतिवादीको बयान उच्च अदालत पाटनमा सुरु भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा बिहीबारदेखि बयान प्रक्रिया अघि बढाइएको हो। यसअघि जेठ २८ गते सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टील्सका सञ्चालक शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि मिलेमतो गरी विभिन्न बैंकबाट लिएको चालु पुँजी तथा अल्पकालीन कर्जा दुरुपयोग गरेको आरोप छ।
अभियोगपत्रअनुसार जगदम्बा स्टील्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायत वित्तीय संस्थाबाट लिएको ऋण औद्योगिक प्रयोजनमा प्रयोग नगरी दीपक भट्टको व्यक्तिगत खातामा स्थानान्तरण गरिएको थियो। त्यसपछि उक्त रकम इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद तथा अन्य व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको दाबी गरिएको छ।
फरार रहेका शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पक्राउ गरी उच्च अदालतमा उपस्थित गराएको थियो। उनको पनि बयान जारी छ।
अदालतमा बयान सकिएपछि प्रतिवादीहरूको थुनछेक बहस हुनेछ। त्यसपछि प्रतिवादीलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटी तारिखमा छाड्ने वा साधारण तारिख तोक्ने विषयमा आदेश दिनेछ।