काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिटरब्याजको धन्दामा संलग्नहरुमाथि अप्रेसन चलाउने तयारी थालेसँगै केही नाइकेहरु सम्पर्कविहिन बनेका छन् भने कतिपय निगरानीमा छन् ।
विभागले काठमाडौंमा विगतदेखि मिटरब्याजको धन्दामा सक्रिय व्यक्तिहरूको सूची तयार पारी ग्रेडिङ नै गरेर कारबाहीको तयारी थालेको छ ।
विभागका एक उच्च अधिकारीका अनुसार शुरुमा ठूला र नाम चलेका मिटरब्याजका नाइकेहरुको सम्पत्ति छानविन भइरहेको छ ।
स्रोतका अनुसार वीरेन्द्रलाल श्रेष्ठ, क्यासिनोबाट उदाएका राजन भुजेल, ललितपुरका महेश बहादुर सिंह, अरुण सेँढाइ, राजु अवाले, गजेन्द्र मास्के, बाबु पुन, रघु पुरी, अशोक गिरी, कविन शाक्य, बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठलगायतका व्यक्तिहरु विभागको छानविनको दायरामा तानिएका छन् ।
विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी मिटरब्याजका नाइकेहरुविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
विभागले छानविन थालेको सूचना प्रहरीबाटै चुहिएपछि विरेन्द्रलाल श्रेष्ठले भने नेपाल छाडिसकेको स्रोत बताउँछ ।
क्यासिनोमा हारेकाहरुलाई एक लाखको दिनको १ हजार रुपैयाँसम्म ब्याज लिनेगरी मिटरब्याजमा पैसा लगानी गरेर काभ्रेका बीरेन्द्रलाल श्रेष्ठ, राजन भुजेल, कविन शाक्य, अरुण सेढाईहरु रातारात करोडौं हुँदै अर्बपति भएका व्यक्ति हुन् ।
मिटरब्याजका डनका रुपमा वीरेन्द्रलालसँगै महेशबहादुर सिंह उदाएका थिए । उनले त १ करोडको ३ बर्षमा ५ करोड असुली गर्दा पनि सावाँ नदिएको भन्दै धम्की दिएपछि अरबिट इन्टरनेशनल इन्ष्टिच्यूट सञ्चालन गर्दैआएका उद्धव केसी नेपालबाटै पलायन भएका थिए ।
वीरेन्द्रलाल श्रेष्ठ र महेशबहादुर सिंहहरुले काठमाडौंमा धेरै नागरिकलाई २० लाख दिएर करोडका घर हडपेका समाचारहरु सार्वजनिक भएका थिए ।
सर्वेन्द्र खनाल आइजीपी छँदा राजन भुजेल प्रहरीको हिटलिष्टमा परेकाले मिटरब्याजको कारोबारमा खुलेर लागेनन् । खनालको अवकाशपछि भूजेल पुनः प्रहरी संरक्षणमै मिटरब्याजको धन्दामा सक्रिय रुपमा लागे । अहिले उनी क्यासिनो डनका रुपमा चिनिन्छन् ।
मिटरब्याजमा लगानी गर्ने यिनीहरुले प्रहरी अधिकृतहरुको पैसा चलाउने गरेका छन् । प्रहरी अधिकृतको पैसा चलाउँदा डुब्ने संभावना कम भएकाले पनि उनीहरु कुनै न कुनै रुपमा प्रहरीसँग जोडिने गरेका छन् ।
कुनै समय टेम्पु चलाउने काभ्रेका वीरेन्द्रलाल श्रेष्ठले प्रहरीकै आडमा मिटरब्याज आतंक नै मच्चाएका थिए । उनले कयौं ब्यक्तिको करोडौंको सम्पत्ति कौडीको मूल्यमा कब्जा गरेका धेरै उदाहरणहरु छन् ।
२०७२ चैतमा आफ्नै जेठी सासु मैतीदेवी निवासी लक्ष्मी पाठकलाई पाँच लाखको कारोबार नमिलेको भनी जेलसम्म हालिदिएका थिए । पाठकले पाँच लाख रुपैयाँ व्यवहारिक कारोबारमा लिएको पैसा समयमै तिरिसक्दा पनि सापट लिँदा पाँच लाखको चेक दिएकी थिइन् । त्यही चेकका आडमा उनलाई जेलसम्म पुर्याइएको थियो ।
दुई सय प्रतिशतभन्दा चर्को व्याजमा रकम लगानी गर्ने र उनीहरूका घरबारी नै कब्जा गर्ने श्रेष्ठ अहिले अर्वपति बनेका छन् ।
उनीबाट पीडित एक व्यक्तिले बालेनन सरकारले निष्पक्ष छानविन गर्ने हो भने आफूले सबै सूचना दिने बताउँछन् ।
मिटरब्याजको धन्दाबाट वीरेन्द्रलालका राजधानीमा मात्रै एक दर्जन बढी आलीसान महल छन् भने जग्गा, गाडी घडेरी जोडेको ति पीडितले बताए ।
प्रहरीकै पैसा समेत मिटरब्याजमा चलाउने भएकाले उनलाई प्रहरीका धेरै अधिकारीले संरक्षण गर्दै आएको हुँदा भाग्न सफल भएको स्रोत बताउँछ ।
उनीविरुद्ध दुई वर्षअघि नै काठमाडौं प्रहरीमा उजुरी परेका थिए । तर, प्रहरीसँगको सेटिङका कारण उनलाई केही भएन । श्रेष्ठको प्रहरीका उच्च हाकिमदेखि नेकपा एमालेका उच्च नेताहरुसँग राम्रो उठबस रहेको छ ।
त्यस्तै, मिटरब्याजकै नाइके महेश सिंह भने रमेश खरेल काठमाडौंको एसपी हुँदा पक्राउ परेका थिए । तर, त्यतीबेला उनको सम्पत्तिको छानबिन भएन । काभ्रेली समूहका दर्जनौं व्यक्तिविरुद्ध उजुरी परेको थियो । तर, उनीहरु कोहि पनि छानविनमा तानिएका छैनन् ।
क्यासिनोमा प्रहरी छापा रोकियो
काठमाडौंमा नयाँ एसएसपीका रुपमा दिलिप घिमिरे आएको दुई महिना पुग्न लाग्दा पनि क्यासिनोका सञ्चालकहरुले प्रहरीमा सेटिङ मिलाएरै हो वा अन्य कुनै कारणले हो छापा हान्न त परै जाओस् निगरानी समेत गरिएको छैन ।
जवकी गृहमन्त्री सुधन गुरुङ अवैध गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न आफै होटल होटलमा पुगेर छापा हान्ने गरेका छन् । नेपाल–भारत सीमामा समेत उनी हुलिया परिवर्तन गरि सूचना संकलनमा जुटेका थिए ।
तर, काठमाडौंका अधिकांश क्यासिनोमा भारतीय नक्कली आधारकार्ड बनाई निर्वाध रुपमा नेपाली प्रवेश हुँदा समेत नयाँ आएका एसएसपी घिमिरेले चासो नराखेको प्रहरी स्रोत बताउँछ ।
गुरुङ गृहमन्त्री बनेलगत्तै प्रहरीले रात्रिकालीन खोजी अभियान सञ्चालन गर्दै एक साताभित्र गुण्डागर्दी, ठगी र बिचौलिया गतिविधिमा संलग्न दुई सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो ।
तर, मिटरब्याज र क्यासिनोमा नेपाली प्रवेश गराउने र खेल्ने नाइकेहरुको हकमा भने अहिलेसम्म प्रहरीले एक्सन लिएको छैन ।
टोले गुण्डाहरु पक्राउ परेपनि प्रहरीका उच्च अधिकारीकै संरक्षणमा विगत लामो समयदेखि मिटरब्याजमा लगानी गर्दै आएकाहरुले उन्मुक्ति पाइरहेका छन् ।
रमेश थापा काठमाडौं प्रहरी प्रमुख छँदा उनले अधिकांश क्यासिनोमा बेलाबखत छापा हानेर अवैध रुपमा प्रवेश गरेका नेपालीहरुलाई पक्राउ गरेका थिए । केही सञ्चालकलाई त उनले मुद्दा नै चलाएका थिए । तर, अहिले भने प्रहरी मौन छ ।
स्रोतका अनुसार राजधानीका अधिकांश क्यासिनोहरुमध्ये सोल्टीमोडस्थित ग्रान्ड होटलको ज्याकपट क्यासिनोमा नेपालीहरु निर्वाध रुपमा प्रवेश गर्ने गरेका छन् ।
राजन भुजेलले उक्त क्यासिनोमा टेबुल नै सञ्चालन गर्दैआएका छन् । जुवा खेल्न चाहने नेपालीलाई मिटरब्याजमा लगानीसमेत गर्दैआएका उनले प्रहरी संरक्षणमा नेपाली जुवाडेलाई भित्र खेल्न दिने गरेको उक्त क्यासिनोमा करोडौं रकम हारेका एक जुवाडेले अनलाइन नेपालसँग बताए ।
तर, उच्च प्रहरी अधिकृतहरुसँग सेटिङ मिलाएकाले उक्त क्यासिनोमा कहिल्यै पनि छापा मारिदैन । कतिपय प्रहरीका हाकिमले भुजेललाई नै मिटरब्याजमा लगानी गरेको भुजेल निकट एक व्यक्तिले दावी गरे । भुजेल र प्रहरीका हाकिमहरुको कनेक्सनको बारेमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङको सचिवालयसम्म कुरा पुगेको एक उच्च प्रहरी अधिकारीले बताए ।
भुजेलले माजोङदेखि लेमन ट्री होटलमा सञ्चालित क्यासिनोमा नेपाली प्रवेश गरेको थाहा पाए भने प्रहरीलाई सूचना दिएर छापा हान्न लगाउने गरेको ती जुवाडे बताउँछन् ।
भुजेलको प्रहरीसँग लामो समयदेखि सेटिङ चल्दैआएको छ । मेरियट होटलमा सञ्चालित डेल्टन क्यासिनोमा कुनै समय टेबुल चलाउने भुजेल २०७६ असारमा पक्राउ परी छुटेका थिए ।
अर्का मिटरब्याजी अरुण सेढाईले सिक्किमको नक्कली परिचयपत्र बनाउँदै क्यासिनोमा नेपाली प्रवेश गराउने र जुवा हारेपछि उनीहरुलाई मिटरब्याजमा लगानी गर्दैआएका छन् ।
प्रहरी बृत्त बौद्धले २०७० बैशाख १२ गते हायात होटलमा रहेको क्यासिनोमा छापा मारेर मिटरब्याजमा पैसा लगानी गरेको आरोपमा अरुण सेढाईसहित ३ जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै ठमेलको वाल्डो क्यासिनो र मेरियट होटलमा सञ्चालित डेल्टन क्यासिनोमा पनि केही दिन यता चिनियाँ नागरिकहरुसँगै केही नेपाली जुवाडेहरुको आउजाउ हुने गरेको छ ।
नेपालीहरुलाई अवैध रुपमा प्रवेश गराउने क्यासिनोहरुमा किन छापा हानिएको छैन ? भन्ने अनलाइन नेपालको प्रश्नमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराई भने क्यासिनोहरुले नेपालीलाई प्रवेश गराएको सूचना पाएको खण्डमा तुरुन्तै छापा हानेर कारबाही गर्ने बताउँछन् ।