काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रिभुवन विश्वविद्यालय स्ववियु उपसभापति सनम वली, स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेललगायत रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ।
वार्षिक दिवस कार्यक्रममा प्रवेश गर्न खोज्दा प्रहरीले विद्यार्थीहरूलाई रोकेको र त्यसपछि नियन्त्रणमा लिएको हो। विश्वविद्यालयमा पर्याप्त बजेट विनियोजन नगरेको विरोध गर्न खोज्दा कार्यक्रमस्थलमा प्रवेशसमेत निषेध गरिएको थियो।
प्रदर्शनकारी विद्यार्थीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए।
उनीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। यसअघि पनि पाँच जना युवाहरू पक्राउ परेका थिए ।
प्रहरीले कार्यक्रमको सुरक्षा व्यवस्था कायम राख्ने क्रममा प्रदर्शनमा सहभागी विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।