काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा र बिचौलिया दीपक भट्टबीच कारोबारको प्रमाण फेला परेको छ ।
विचौलिया भट्टको हित नियन्त्रणमा रहेको हिमालयन एसेट म्यानेजमेन्ट प्रालिबाट जयवीरको लगानी रहेका दुई कम्पनीमा कुल २ करोड ६० लाख रुपैयाँ भुक्तानी गरिएको प्रमाण फेला परेको हो । योसँगै जयवीर पनि सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीरको लगानी रहेको स्कलर इन्टरनेशनल र डिजी हबमा उक्त रकम स्थानान्तरण भएको विवरण फेला परेपछि त्यसको प्रकृति, उद्देश्य र कानुनी आधारबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्ने क्रममा विभागले जयवीर देउवामाथि पनि अनुसन्धान जारी रहेको जानकारी दिएको हो ।
यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवासँग सम्बन्धित केही आर्थिक कारोबारबारे अनुसन्धान गरिरहेको जानकारी सार्वजनिक गरिसकेको थियो ।
यद्यपि, अनुसन्धान जारी रहेकाले सम्बन्धित व्यक्तिहरूमाथि कुनै कसुर अदालतबाट स्थापित भइसकेको छैन ।