काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तनका रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न असन्तोषको परिणाम भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको विस्तृत टिप्पणीमा उनले आम निर्वाचन २०८२ मा नयाँ राजनीतिक शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको तीव्र अपेक्षासँग जोडिएको उल्लेख गर्दै लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा स्थापित शक्ति दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
पोखरेलका अनुसार पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नेपालीहरूको जीवनस्तरमा सुधार आए पनि त्यसअनुसार आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा समाजमा व्यापक असन्तुष्टि सिर्जना भएको हो।
उनले वस्तु तथा सेवाको उपभोग बढ्दै गए पनि त्यसलाई धान्ने आय नबढेकाले भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय तथा तीव्र वैदेशिक पलायनजस्ता समस्या बढेको उल्लेख गरेका छन्। राज्यले समयमै यी चुनौतीको सम्बोधन गर्न नसक्दा नागरिकमा निराशा र आक्रोश चुलिएको उनको भनाइ छ।
महासचिव पोखरेलले आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्रमुख चुनावी एजेन्डा बनाए पनि मतदातालाई आकर्षित गर्न नसकेको विश्लेषण गरेका छन्। बरु भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारीलाई मुख्य मुद्दा बनाएका वैकल्पिक शक्तिहरूले जनमत आफ्नो पक्षमा पार्न सफल भएको उनको भनाइ छ।
उनले पुराना दलबाट पूरा नभएका अपेक्षा नयाँ शक्तिबाट मात्रै पूरा हुने भन्ने भाष्य स्थापित गर्न सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मूलधारका दलहरू त्यसको प्रभावकारी प्रतिवाद गर्न असफल भएको टिप्पणी गरेका छन्।
पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गरेका छन्। उनका अनुसार पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको थियो। उनले ‘जेन्जी अभियानकर्ता’का नाममा भएका प्रदर्शनलाई भिडन्तमा रूपान्तरण गरी जनआक्रोश बढाउने प्रयास गरिएको तथा भदौ २३ र २४ का घटनापछि भएको सत्ता परिवर्तनमा बाह्य शक्तिको हस्तक्षेप रहेको आरोप पनि लगाएका छन्।
नयाँ शक्तिको भविष्यबारे टिप्पणी गर्दै उनले लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको जगमा सत्तामा पुगेको शक्ति लामो समयसम्म जनविश्वास कायम राख्न नसक्ने दाबी गरे।
त्यसैगरी उनले वर्तमान सरकारले लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाबाट समाधान खोज्नुको सट्टा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजेको आरोप लगाए।