काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक चेतावनीपूर्ण अभिव्यक्ति सार्वजनिक गर्दै आफूलाई अनावश्यक रूपमा उक्साउने वा धैर्यताको परीक्षा लिने प्रयास नगर्न आग्रह गरेका छन्।
फेसबुकमा बिहीबार स्टाटस लेख्दै सांसद बमले आफूलाई ‘शान्त ज्वालामुखी’ को संज्ञा दिँदै लेखेका छन्, “हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले क–कसलाई खरानी बनाउँछ। अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो।”
उनले सन् २००४ देखि २२ वर्ष लामो सामाजिक तथा राजनीतिक संघर्ष गरेको उल्लेख गर्दै अब आफूले हार्न, सकिन वा गुमाउन बाँकी केही नरहेको दाबी गरेका छन्।
स्टाटसमा उनले आफू देश र नागरिकका लागि ज्यान दिनसमेत तयार रहेको उल्लेख गर्दै आफूलाई “पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही” का रूपमा चित्रण गरेका छन्।
सांसद बमले स्टाटसको अन्त्यमा “इतिहास बुझ्न थोरै समय लाग्छ, समय त्यतैतर्फ खर्च गर्दा राम्रो” लेख्दै ‘जय देश’ र ‘जय पशुपतिनाथ’ उल्लेख गरेका छन्।
यद्यपि, उनले उक्त सन्देश कसलाई लक्षित गरेर लेखिएको हो भन्ने विषय खुलाएका छैनन्।