Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमलताल दुर्घटना : डेढ वर्षपछि भेटिएको बस अझै बालुवामुनि, उत्खनन तीव्र

सिमलताल दुर्घटना : डेढ वर्षपछि भेटिएको बस अझै बालुवामुनि, उत्खनन तीव्र

मंगलवार , पौष २९, २०८२

तनहुँ । चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ ।

झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा आइतबार फेला परेको थियो ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस वि।सं। २०८१ असार २८ गते सिमलतालमा पहिरोसँगै नदीमा खसेको थियो ।

अवरोध र जोखिमका बीच नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बसको भग्नावशेष निकाल्ने प्रयासलाई तीव्र पारेको छ।

आइतबार र सोमबार दिनभरको प्रयासपछि पनि बसको ठूलो हिस्सा अझै बालुवा, गेग्रान र लेदोले पुरिएको अवस्थामा रहेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बस अत्यन्तै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा रहेकाले प्राविधिक सावधानी अपनाउँदै उत्खनन अघि बढाइएको छ।

उनका अनुसार मङ्गलबार बिहानैदेखि पुनः उत्खनन कार्य सुरु गरिएको हो। सिमलतालको त्यो भयावह रात दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन्। भारतबाट आएका गोताखोरले समेत लामो समय खोजी गर्दा फेला पार्न नसकेको बसको अवशेष आइतबार मात्रै भेटिएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट र आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077