Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

प्रसूतिका क्रममा महिलाको मृत्यु प्रकरण : एभरेस्ट अस्पताल र डा. ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने आदेश

प्रसूतिका क्रममा महिलाको मृत्यु प्रकरण : एभरेस्ट अस्पताल र डा. ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने आदेश

शनिवार , श्रावण २, २०८३

काठमाडौं । प्रसूतिको क्रममा काठमाडौंको गोठाटारकी मनिता शर्माको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर गर्दै पीडित परिवारलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।

उपभोक्ता अदालतले बानेश्वरस्थित एभरेस्ट अस्पताललाई ३० लाख रुपैयाँ र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई ९ लाख रुपैयाँ गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति मृतकका परिवारलाई उपलब्ध गराउन फैसला गरेको हो।

अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार श्रीमतीको मृत्यु अस्पताल र चिकित्सकको लापरबाहीका कारण भएको दाबी गर्दै मृतक मनिताका श्रीमान् सुवास पराजुलीले दायर गरेको मुद्दामा अदालतले उक्त फैसला सुनाएको हो।

फैसलाअनुसार ३४ हप्ताकी गर्भवती मनिताले गर्भावस्थाभर डा. ज्योत्सना शर्मा तिवारीको नियमित निगरानीमा उपचार गराइरहेकी थिइन्। डा। तिवारी काठमाडौं मेडिकल कलेजमा कार्यरत रहँदै एभरेस्ट अस्पतालमा पनि ‘पार्टटाइम’ सेवा दिँदै आएकी थिइन्।

२०८१ मङ्सिर २५ गते पेटको माथिल्लो भागमा असह्य पीडा भएपछि डा. तिवारीकै सल्लाहमा मनिता एभरेस्ट अस्पताल पुगेकी थिइन्। दिउँसो २:१५ बजे अस्पताल भर्ना गरिएकी उनलाई तत्काल आकस्मिक कक्षमा राखिएको थियो।

सोही दिन साँझ ४ः३० बजे सिजेरियन शल्यक्रियाका लागि अपरेसन थिएटर लगिएको मनिताले ५ः१५ बजे छोरीलाई जन्म दिएकी थिइन्। तर शल्यक्रियापछि केहीबेरमै उनको मृत्यु भएको थियो ।

अदालतको फैसलामा ‘सिभियर प्रि–एक्लेम्प्सिया भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य दिनुपर्ने म्याग्नेसियम सल्फेट नदिई उपचारमा लापरबाही गरिएको’ उल्लेख छ ।

श्रीमतीको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको आरोप लगाउँदै सुवास पराजुलीले उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए। अदालतले प्रमाण र बहसको मूल्याङ्कनपछि अस्पताल र चिकित्सक दुवैको लापरबाही ठहर गर्दै क्षतिपूर्ति दिन आदेश दिएको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077