'कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन'
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहीले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती भएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले पेट्रोल बिक्री बन्द गरेपछि उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै सो माग गरेका हुन् ।
शाहीका अनुसार सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट “पेट्रोल छैन”, “डिजेल छैन” भन्दै बिक्री बन्द गरिएको सूचना प्राप्त भएका छन् ।
'बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने तथा मूल्य घट्दा इन्धन बिक्री रोक्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। सरकारसँग यस्ता पेट्रोल पम्पमाथि तत्काल छानबिन गरी कानुनबमोजिम कारबाही गर्न जोडदार माग गर्दछु,' उनले लेखेका छन् ।
“स्टक छैन” भन्दै बिक्री रोकिएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहित प्रमाण उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
साथै, शाहीले सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन टोलीलाई तत्काल बजारमा अनुगमन तीव्र बनाउन, इन्धन लुकाएर बिक्री बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन् ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको घोषणा गरेको थियो। मूल्य घटेको केही घण्टामै बजारमा पेट्रोल बिक्री प्रभावित भएपछि उपभोक्तामा इन्धन अभाव भएको आशंका फैलिएको हो।
काठमाडौं उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा बिहानैदेखि इन्धन भर्न आउने सवारीसाधनको भीड लागेको छ।
अधिकांश निजी पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री वितरण रोकेका छन् भने सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ।
यता बानेश्वर आसपासका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा चालकहरू वैकल्पिक पम्प खोज्दै भौतारिन बाध्य भएका छन्। उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट पनि निजी पेट्रोल पम्पले बिक्री वितरण रोकेको सूचना प्राप्त भएको छ।

यद्यपि, नेपाल आयल निगमले भने बजारमा पेट्रोलियम पदार्थको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार देशभर पर्याप्त इन्धन मौज्दात रहेको र आपूर्ति प्रणाली नियमित रूपमा सञ्चालन भइरहेको छ।
निगमले केही व्यवसायीले मूल्य घट्ने जानकारी पाएपछि पुरानो मूल्यमा इन्धन खरिद नगरी लोड नउठाएको तथा बढी नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
यसै कारण निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको छ । उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने बताइएको छ ।