'तिमीहरूको राजनीति देखेर भगवान् पनि वाक्क भइसके'
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाको राजनीतिले भगवान पनि वाक्क भइसकेको टिप्पणी गरेका छन् ।
पार्टीभित्रको आन्तरिक विवादप्रति कडा असन्तुष्टि व्यक्त गर्दै शाहीले सामाजिक सञ्जाल फेसबुकमै आफ्नो कडा अभिव्यक्ति प्रस्तुत गरेका हुन् ।
उनले भनेका छन्–‘तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान् पनि वाक्क भइसक्नुभएको होला ।’
पार्टीभित्रको विवाद र शक्ति संघर्षले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढाएको उनको भनाइ छ । शाहीले अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीचको विवादप्रति संकेत गर्दै अहिलेको समय आरोप–प्रत्यारोप गरेर टुट्ने र फुट्ने नभई जुट्ने समय भएको उल्लेख गरेका छन् ।
उनले नेतृत्वका लागि भइरहेको हानाथाप र अहंकारले संगठन, कार्यकर्ताको मनोबल तथा युवाहरूको भरोसामा नकारात्मक असर परेको टिप्पणी गरेका छन् ।
धवलशमशेर–दुर्गा प्रसाईंबीच भेटवार्ता, नयाँ पार्टी गठनको तयारी तीव्र
शाहिले आक्रोश पोख्दै लेखेका छन्–‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ । तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं ।’
उनले एक नेताले नेतृत्व छोड्न नचाहेको र अर्को नेताले चुनाव नलडी नेतृत्व लिन खोजेको संकेत गर्दै पदका लागि भइरहेको प्रतिस्पर्धामाथि प्रश्न उठाएका छन् । नेतृत्व भनेको पदमा टाँसिएर बस्ने नभई आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता भएको पनि उनले बताएका छन् ।
शाहीले पार्टीभित्र देखिएको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक पक्षले विज्ञप्तिमार्फत आफूलाई सही सावित गर्न खोजिरहेको र अर्को पक्षले भेला गर्दै अलग बाटो समात्ने संकेत गरिरहेको आरोप लगाएका छन् ।
विवाद समाधानका लागि दुवै नेतालाई एकै ठाउँमा बसेर खुला छलफल गर्नसमेत उनले आग्रह गरेका छन्। उनले लेखेका छन्–‘यदि तिमीहरूमा हिम्मत र दम छ भने म बस्छु, तपाईंहरू पनि बस्नुस्, हामी तीन जना सँगै बसेर छलफल गरौं ।’
राप्रपाभित्र पछिल्लो समय अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीचको सम्बन्ध बिग्रिएको छ । महामन्त्री राणा राप्रपाबाट छुट्टिएर अर्को पार्टी गठनको तयारीमा लागेका छन् । नयाँ पार्टी गठन गर्ने तयारी गरेका राणालाई लिङ्देनले भने पार्टीमा फर्किन आह्वान गरेका छन् ।
त्यसैका लागि राणाले हिजो नै राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग भेटवार्ता गरेका थिए ।
स्रोतका अनुसार भेटका क्रममा आगामी दिनमा एउटै राजनीतिक मोर्चामा अघि बढ्ने विषयमा दुई नेताबीच सकारात्मक सहमति बनेको छ। यद्यपि नयाँ पार्टीको नाम, संगठनात्मक संरचना तथा विभिन्न समूह र व्यक्तिहरूलाई कसरी समेट्ने भन्ने विषयमा थप छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको बताइएको छ।
राणाले प्रसाईंसहित विभिन्न राष्ट्रवादी तथा राजावादी धारका व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै नयाँ राजनीतिक दल घोषणा गर्ने तयारीलाई तीव्र बनाएका छन्।
स्रोतका अनुसार धार्मिक, सांस्कृतिक र राष्ट्रवादी एजेन्डालाई केन्द्रमा राखेर नयाँ दल निर्माणको गृहकार्य भइरहेको छ।
हाल मलमासको अवधि चलिरहेकाले औपचारिक घोषणा रोकिएको भए पनि मलमास समाप्त भएपछि पार्टी घोषणा गर्ने तयारी भइरहेको स्रोत बताउँछ ।