काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीप्रति लक्षित गरी दिएको भनिएको विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।
आफूले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नभई केही निश्चित समूह र प्रवृत्तिलाई मात्र लक्षित गरेर टिप्पणी गरेको उनले बताएका छन्।
जापान भ्रमणका क्रममा आफूमाथि आक्रमणको प्रयास भएको दाबी गर्दै एक व्यक्तिले भिडियो सार्वजनिक गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका थिए ।
त्यसक्रममा उनले प्रयोग गरेका शब्दलाई लिएर विदेशमा रहेका नेपाली समुदायबाट आलोचना भएपछि उनले पुनः आफ्नो धारणा स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'मैले विदेशमा रहेका सबै नेपालीले कुरा बुझ्दैनन् भनेको होइन। मेरो भनाइ विशेष गरी टीओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू र खराने ग्याङका अन्धसमर्थकहरूप्रति हो।'
शाहीले अरूको चरित्रहत्या, अपमानजनक सामग्री उत्पादन तथा विवाद सिर्जना गरेर सामाजिक सञ्जालबाट आर्थिक लाभ उठाउने प्रवृत्तिप्रति आफ्नो आक्रोश रहेको उल्लेख गरेका छन्। उनले त्यस्ता सामग्री परिवारका सदस्यसँग बसेर हेर्न वा सुन्नसमेत नसकिने खालका हुने टिप्पणी गरेका छन्।
उनले आफ्नो टिप्पणी कुनै समुदाय वा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति नभई असभ्य, अपमानजनक र चरित्रहत्या गर्ने प्रवृत्तिविरुद्ध रहेको दाबी गरेका छन्।
'जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको आवाजलाई सम्मान गर्दैन, मेरो टिप्पणी त्यस्ता प्रवृत्तिप्रति हो, विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति होइन,' उनले स्पष्ट पारे।
शाहीले आलोचना लोकतान्त्रिक अधिकार भए पनि त्यो सत्यतथ्यमा आधारित, सभ्य, मर्यादित र जिम्मेवारीपूर्ण हुनुपर्नेमा जोड दिएका छन्।